काठमाडौं । भिजिट भिसाको नाममा अवैध रूपमा कुवेत पठाउन लागिएका २७ नेपाली महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ।
बुधबार राति फ्लाई दुबईको फरक–फरक उडानमार्फत ओमनको राजधानी मस्कट हुँदै कुवेत लैजाने तयारी भइरहेका बेला प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
२२ देखि २९ वर्ष उमेर समूहका महिलासँग ओमनको भिसा, टिकट र होटल बुकिङ कागजात भए पनि पासपोर्टमा कुवेतको भिसा भेटिएपछि शंका उत्पन्न भएको थियो।
विमानस्थल अध्यागमन कार्यालयले निगरानी गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान सुरु गरेको हो।
प्रहरीका अनुसार महिलाहरूलाई अन्ततः कुवेतमा घरेलु कामदारका रूपमा अवैध रूपमा पठाउने योजना रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
नेपाल सरकारले कुवेतमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ। विगतमा त्यहाँ पुगेका नेपाली महिलामाथि शारीरिक, मानसिक र यौनजन्य हिंसाका धेरै घटना सार्वजनिक भएका छन्।
यस घटनामा संलग्न मानव तस्करी गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ।