काठमाडौं । यस वर्षको प्रि–मनसुन अवधिमा नेपालमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सन् १९८१ यताको तथ्यांक विश्लेषण गर्दा यो वर्ष रेकर्डस्तरको वर्षा मापन भएको हो।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार प्रि–मनसुन याममा नेपालमा औसत २२६.३ मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष ३३९.७ मिलिमिटर वर्षा भएको छ। यो औसतको १४५.५ प्रतिशत बराबर हो।
यसैबीच, पछिल्लो २४ घण्टामा झापाको अनारमनी–बिर्तामा २०८ मिलिमिटर वर्षा मापन भएको छ, जुन अति भारी वर्षाको श्रेणीमा पर्छ। विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा मानिन्छ।
विभागले मनसुन नेपाल प्रवेश गर्ने चरणमा पुगेको जनाएको छ। झापासहित इलाम, मोरङ, सुनसरी, सिन्धुली तथा पश्चिमका कास्की, लमजुङ र गोरखाका केही क्षेत्रमा पनि भारी वर्षा भएको छ। यद्यपि, यस वर्ष वर्षा देशभर समान रूपमा नभई सीमित क्षेत्रमा केन्द्रित देखिएको विभागको भनाइ छ।