फिफा विश्वकप

विश्वकपमा केपभर्डेको प्रभावशाली प्रदर्शन, उरुग्वेसँग २–२ को बराबरी

२ महिना अगाडि
विश्वकपमा केपभर्डेको प्रभावशाली प्रदर्शन, उरुग्वेसँग २–२ को बराबरी

काठमाडौं । पहिलोपटक विश्वकपमा सहभागिता जनाएको केपभर्डेले समूह चरणको दोस्रो खेलमा दुईपटकको विश्वविजेता उरुग्वेलाई बराबरीमा रोक्दै उत्कृष्ट प्रदर्शन गरेको छ।

रोचक प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन्। यसअघि स्पेनविरुद्ध गोलरहित बराबरी खेलेको केपभर्डेले विश्वकप इतिहासमा पहिलोपटक गोल दर्ता गर्न पनि सफल भयो।

खेलको सुरुआती अग्रता केपभर्डेले लिएको थियो। केभिन पियानले गोल गर्दै टोलीलाई अगाडि बढाए। तर पहिलो हाफको अन्त्यतिर उरुग्वे खेलमा फर्कियो। ४३औँ मिनेटमा मेक्सी अराजाओले बराबरी गोल गरे भने त्यसको लगत्तै अगस्टिन क्यानोबियोले अर्को गोल थप्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए।

दोस्रो हाफमा केपभर्डेले पुनः सशक्त पुनरागमन गर्‍यो। ६०औँ मिनेटमा हेलियो भरेलोले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्‍याए। त्यसपछि दुवै टोलीले अवसर सिर्जना गरे पनि थप गोल हुन नसक्दा अंक बाँडफाँटमा खेल टुंगियो।

यस नतिजासँगै समूह चरणमा केपभर्डे र उरुग्वे दुवैले समान २–२ अंक बनाएका छन्।