मौसम पूर्वानुमान

मनसुन कोसीमै सीमित, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

२ महिना अगाडि
मनसुन कोसीमै सीमित, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

काठमाडौं । मनसुनी प्रणाली अझै देशभर सक्रिय हुन नसक्दा पूर्वी नेपालबाहेक अधिकांश क्षेत्रमा गर्मीको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन हाल कोसी प्रदेशका केही भूभागमा मात्र सीमित रहेकाले अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको छ।

आज दिउँसो कोसी प्रदेशका हिमाली, पहाडी तथा तराईका केही क्षेत्रमा बादल लाग्ने र वर्षाको सम्भावना रहेको छ। वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा वर्षासँगै चट्याङ पर्ने सम्भावना रहेको छ। कोसी प्रदेशको तराईका केही स्थान र मधेसका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यता, मनसुन कमजोर रहँदा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावाको लहर चल्ने सम्भावना छ। वाग्मती र गण्डकीका तराई भूभागमा समेत गर्मी बढेर ‘तातो दिन’ महसुस हुन सक्ने विभागको भनाइ छ।

रातिको समयमा पनि कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान छ। मधेस र कोसी प्रदेशका तराईका केही क्षेत्रमा समेत वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मौसमविद्का अनुसार मनसुनी वायु पूर्वी क्षेत्रमा मात्र सक्रिय भएकाले देशका अधिकांश भूभागमा तत्काल व्यापक वर्षाको सम्भावना देखिएको छैन। त्यसैले गर्मी र तातो लहरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।