काठमाडौं । देशका विभिन्न भूभागमा तातो हावाको लहर र वर्षाको मिश्रित प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कतिपय स्थानमा तातो दिन रहने भए पनि धेरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
विभागका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभाग र कोसी प्रदेशको तराई क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै कोसी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
तराईका केही क्षेत्रमा तातो हावाको लहर जारी रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा बढी गर्मी रहने अनुमान छ भने बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तातो दिन हुने सम्भावना छ।
रातिको समयमा कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा तथा कोसी प्रदेशको तराई क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। अन्य प्रदेशका धेरै भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने विभागले जनाएको छ।
हाल कोसी, मधेस र बागमती प्रदेशका अधिकांश भूभाग, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको विभागले जनाएको छ।
जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार मनसुन क्रमशः पश्चिमतर्फ विस्तार भइरहेको छ। उनका अनुसार कोसी प्रदेशमा असार ५ गते प्रवेश गरेको मनसुनी प्रणाली असार ८ गते लुम्बिनीको पूर्वी भागसम्म पुगेको छ। आगामी केही दिनमा सुदूरपश्चिमसम्म मनसुन पुग्ने सम्भावना रहेको उनले बताएका छन्।
तर पश्चिम नेपालमा पूर्ण मनसुनी वर्षाको अवस्था बन्न अझै केही दिन लाग्ने उनको भनाइ छ। पूर्वी नेपालमा भने वर्षा आउने–जाने प्रकृतिको रहने भएकाले यसले खेतीपाती र वातावरणमा सकारात्मक प्रभाव पार्ने उनले उल्लेख गरेका छन्।