चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो २ बजे सुरु हुने भएको छ। भरतपुरमा जारी महाधिवेशनको दोस्रो दिन प्रतिनिधि दर्ता, नीति तथा राजनीतिक प्रतिवेदनमाथि छलफल र आगामी नेतृत्व चयनको प्रक्रियालाई अघि बढाइने तयारी गरिएको छ।
महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्रतिनिधि दर्ता प्रक्रिया बिहान १० बजेदेखि सुरु भएको छ भने भोजनपछि सभापति रवि लामिछानेले बन्दसत्रको औपचारिक उद्घाटन गर्नेछन्। बन्दसत्रको प्रारम्भमा अनुशासन आयोग, कोषाध्यक्ष र महामन्त्रीको प्रतिवेदन प्रस्तुत गरिनेछ।
त्यसपछि विधान संशोधन प्रस्ताव, आर्थिक–राजनीतिक प्रस्ताव र पार्टीको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूबीच छलफल हुनेछ। महाधिवेशनले नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउन अन्तरिम समिति गठन गरी निर्वाचन आयोगलाई जिम्मेवारी हस्तान्तरण गर्ने तयारी पनि गरेको छ। पार्टीको आगामी राजनीतिक दिशा, संगठन विस्तार र रणनीति तय गर्ने भएकाले बन्दसत्रलाई विशेष महत्वका साथ हेरिएको छ।