चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुरानै राजनीतिक संस्कार र कार्यशैली दोहोर्याएर नयाँ परिणाम हासिल गर्न नसकिने बताएका छन्।
प्रथम महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले पार्टीभित्र विविध पृष्ठभूमिबाट आएका नेता–कार्यकर्ताले साझा लक्ष्य र एउटै प्रतिबद्धताका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
‘राजनीतिक चरित्र उस्तै रह्यो, शक्ति प्राप्त गर्ने दौड उस्तै रह्यो र गुट–उपगुटको संघर्ष उस्तै रह्यो भने परिणाम पनि उस्तै हुन्छ। फरक परिणाम निकाल्ने हो भने केही फरक सोच्नैपर्छ,’ लामिछानेले भने।
उनले परिवर्तन केवल नारामा सीमित हुन नहुने भन्दै व्यवहार, कार्यशैली र संगठन सञ्चालनको संस्कारमै सुधार आवश्यक रहेको बताए।
लामिछानेले राष्ट्रिय हितलाई केन्द्रमा राखेर पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिँदै, ‘जहाँबाट जसरी आए पनि राष्ट्रका लागि गर्ने हाम्रो प्रतिबद्धता एउटै हुनुपर्छ,’ भने।
उनले आत्मसमीक्षा, पारदर्शिता र नयाँ राजनीतिक संस्कारलाई संस्थागत गर्न सके मात्रै नागरिकले खोजेको वैकल्पिक राजनीतिक शक्ति बन्न सकिने धारणा व्यक्त गरे।