चुनाव भए शिशिर खनालले पनि महामन्त्रीमा उम्मेदवारी दिने

२ महिना अगाडि
चुनाव भए शिशिर खनालले पनि महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले चुनाव नै भए पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

प्रथम महाधिवेशनकाे मतदान कार्यक्रम नजिकिँदै गर्दा उनले आफ्नो आकांक्षा सार्वजनिक गर्दै पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियाअनुसार हुने निर्वाचनमा प्रतिस्पर्धामा सहभागी हुने बताएका हुन् ।

खनालले पार्टी विधानअनुसार पहिले केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्ने र त्यसपछि मात्र पदाधिकारीमा प्रतिस्पर्धा गर्न सकिने भएकाले सोही प्रक्रियाअनुसार आफूले तयारी गरिरहेको बताए ।

‘प्रक्रियाअनुसार पहिले केन्द्रीय सदस्य जित्नुपर्छ, त्यसपछि पदाधिकारीमा प्रतिस्पर्धा गर्ने हो । महामन्त्री पदका लागि आफू सक्षम रहेको विश्वासका साथ उम्मेदवारी दिने निर्णय गरेको हुँ,’ उनले भने । उनले सर्वसहमति भए पार्टीको निर्णय अनुसार नै हुने र चुनावको अवस्था आए प्रतिष्पर्धामा होमिने बताए ।

पार्टीभित्र नेतृत्वका लागि प्रतिस्पर्धा बढ्दै गएको छ। विभिन्न नेताहरूले आफ्नो दाबी सार्वजनिक गर्न थालेका छन्। शिक्षा, नीति निर्माण र संगठन निर्माणमा सक्रिय खनाल पार्टी स्थापनाकालदेखि नै प्रभावशाली नेताका रूपमा चिनिन्छन् ।