रास्वपा महाधिवेशन

रास्वपाको बन्दसत्र सकियो, रविको राजनीतिक प्रतिवेदन पारित

२ महिना अगाडि
रास्वपाको बन्दसत्र सकियो, रविको राजनीतिक प्रतिवेदन पारित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत ढिलो गरी सुरु भएको बन्दसत्र केही घण्टामै सम्पन्न भएको छ । प्रतिनिधि विवादका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएको बन्दसत्र मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु भएर बेलुकी सवा सात बजे सकिएको हो ।

बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लामिछानेले पार्टीको भावी राजनीतिक दिशा, संगठन विस्तार र आगामी रणनीतिसहितको प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन बन्दसत्रले सर्वसम्मत रूपमा पारित गरेको रास्वपाले जनाएको छ ।

यस्तै, महामन्त्री कवीन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा पार्टीको संगठन विस्तार, सदस्यता व्यवस्थापन तथा आगामी कार्ययोजनाबारे धारणा राखिएको थियो ।

बन्दसत्रमा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पनि सहभागी भएका थिए । कार्यक्रम सकिएपछि उनले सभापति रवि लामिछानेलाई अंकमाल गर्दै खुसी साटेका थिए । उनीहरूको उक्त दृश्यले बन्दसत्रस्थलमा केहीबेर रमाइलो माहोल सिर्जना गरेको थियो ।

बन्दसत्र सकिएलगत्तै लामिछानेले पुनः पार्टी सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनको उम्मेदवारीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता शाह प्रस्तावक बनेका छन् ।

हालसम्म सभापति पदमा अन्य कुनै उम्मेदवारी दर्ता नभएकाले लामिछाने निर्विरोध चयन हुने सम्भावना बलियो देखिएको छ ।

महाधिवेशनको कार्यतालिकाअनुसार बुधबार केन्द्रीय सदस्यहरूको निर्वाचन हुनेछ । त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूबाट पदाधिकारी चयनको प्रक्रिया अघि बढाइने रास्वपाले जनाएको छ।