चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध भएका छन् । चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि पुनः सभापतिमा चयन भएका हुन् ।
सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । यद्यपि यसको औपचारिक घोषणा भने महाधिवेशनको निर्वाचन आयोगले गर्न बाँकी छ ।
महाधिवेशनअन्तर्गत मंगलबार सम्पन्न बन्दसत्रपछि लामिछानेले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । उनको उम्मेदवारीमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह प्रस्तावक बनेका थिए ।
प्रतिनिधि विवादका कारण केही ढिलो गरी सुरु भएको बन्दसत्रमा लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले पार्टीको भावी राजनीतिक दिशा, संगठन विस्तार, सुशासन र आगामी रणनीतिबारे आफ्नो धारणा राखेका थिए । बन्दसत्रले उनको राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।
यसैगरी, महामन्त्री कवीन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्दसत्र सकिएलगत्तै उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाइएको थियो ।
महाधिवेशनमा अब केन्द्रीय सदस्यहरूको चयन प्रक्रिया जारी रहेको छ । केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता भइरहेको र त्यसपछि पदाधिकारी चयनको प्रक्रिया अघि बढाइने कार्यतालिका रहेको रास्वपाले जनाएको छ ।