काठमाडौं । देशका विभिन्न भूभागमा आज मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने केही तराई क्षेत्रमा तातो लहर (हीटवेभ) चल्ने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभाग र कोसी प्रदेशको तराई क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। मधेस प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ भने वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।
त्यसैगरी, कोसी प्रदेशको तराईका केही स्थान तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहर चल्ने सम्भावना रहेको छ। साथै वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा अत्यधिक गर्मी रहने पूर्वानुमान गरिएको छ।
रातिको समयमा कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोसी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ। मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने विभागले जनाएको छ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
राति कोसी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा वाग्मती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै कोसी प्रदेशको तराईका केही स्थान र मधेस प्रदेशको तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
हाल कोसी, मधेस र वाग्मती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागका थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ। बाँकी भूभागमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।