काठमाडौं । क्रोएसियाले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ। समूह चरणअन्तर्गत पानामाविरुद्ध भएको खेलमा क्रोएसियाले १–० को कठिन जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा क्रोएसियाले दोस्रो हाफमा निर्णायक गोल गरेको थियो। खेलको ५३औँ मिनेटमा एन्ते बुदिमिरले जोसिप स्टानिसिचको पासमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उक्त गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो।
यस जितसँगै क्रोएसियाले प्रतियोगितामा पहिलो तीन अंक जोडेको छ। यसअघि भएको खेलमा क्रोएसिया इंग्ल्याण्डसँग ४–२ ले पराजित भएको थियो।
यता, पानामाले भने लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा घानासँग १–० ले पराजित भएको पानामा दोस्रो खेलमा पनि अंक जोड्न असफल रह्यो।
समूह ‘एल’को अंक तालिकामा क्रोएसियाले पहिलो जितसँगै तीन अंक बनाएको छ भने पानामा अझै अंकविहीन रहेको छ। प्रतियोगितामा अघि बढ्ने सम्भावना कायम राख्न पानामाले अब बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब बढेको छ।