रास्वपामा विद्युतीय मतदान, ९९ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा

एक महिना अगाडि
रास्वपामा विद्युतीय मतदान, ९९ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा पहिलो पटक विद्युतीय मेसिनमार्फत मतदान हुने भएको छ। निर्धारित समयभन्दा एक दिन लम्बिएको महाधिवेशनअन्तर्गत बुधबार केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी गरिएको हो।

सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेपछि अब ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्। मतदानका लागि रामलक्ष्मण इनोभेसनका ८० वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ।

कम्पनीका सञ्चालक लक्ष्मण रिमालका अनुसार उम्मेदवारको अन्तिम नामावली प्राप्त भएपछि ६ घण्टाभित्र मेसिनमा विवरण प्रविष्ट गर्ने काम सकिनेछ। यसअघि सबै प्राविधिक तयारी र परीक्षण सम्पन्न भइसकेको बताइएको छ।

रास्वपाको निर्वाचन आयोगले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेपछि दाबी–विरोधको प्रक्रिया पूरा गरेर अन्तिम सूची सार्वजनिक गर्नेछ। त्यसपछि मात्रै मतदान सुरु हुनेछ। पहिलो चरणमा केन्द्रीय सदस्य चयन हुनेछ भने त्यसपछि पदाधिकारी चयनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ।