नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। केन्द्रीय कार्यालय सानेपाले जारी गरेको कार्यतालिकाअनुसार आगामी असार २० गतेभित्र सदस्यता सम्बन्धी सबै प्रक्रिया पूरा गरिनेछ।
जेठ २८ गतेपछि अद्यावधिक गर्न छुटेका सदस्यहरूले स्वयं सदस्यता अद्यावधिक गर्न पाउने व्यवस्था गरिएको छ। त्यस्तै, नवीकरण नभएका सदस्यताको नवीकरण, नयाँ सदस्यता वितरण र १४औँ महाधिवेशनमा रोकिएका सदस्यताको व्यवस्थापन पनि यही अवधिमा सम्पन्न गरिनेछ।
विदेशस्थित नेपाली जनसम्पर्क समितिका सदस्यहरूको अद्यावधिक, पार्टीमा समाहित भएका तथा नयाँ प्रवेश गरेका सदस्यहरूको व्यवस्थापनसमेत सोही अवधिभित्र सकिने कांग्रेसले जनाएको छ।
कांग्रेसले डिजिटल प्रणालीमार्फत सदस्यता व्यवस्थापनलाई पारदर्शी र विश्वसनीय बनाउने अभियान सञ्चालन गरिरहेको छ। पार्टीभित्र सदस्यता विवाद दोहोरिँदै आएका बेला यो कार्यतालिकालाई १५औँ महाधिवेशनको तयारीसँग जोडेर हेरिएको छ।