ललितपुर महानगरले ल्यायो ७ अर्ब ४८ करोडको बजेट, चालु खर्च बढ्दा पुँजीगत खर्च घट्यो

एक महिना अगाडि
ललितपुर महानगरले ल्यायो ७ अर्ब ४८ करोडको बजेट, चालु खर्च बढ्दा पुँजीगत खर्च घट्यो

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालु आर्थिक वर्षकै हाराहारीमा रहेको महानगरपालिकाले जनाएको छ ।

बुधबार नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर मञ्जली शाक्य बज्राचार्यले मितव्ययी, पारदर्शी र औचित्यपूर्ण ढंगले खर्च गर्ने लक्ष्यसहित बजेट निर्माण गरिएको बताइन् ।

उनका अनुसार आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ । कर्मचारीको तलब वृद्धि, प्रशासनिक खर्च, सामाजिक सुरक्षा भत्ता तथा अन्य अनिवार्य दायित्व बढ्ने भएकाले चालु खर्च गत वर्षको तुलनामा करिब ९ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा २ अर्ब ९६ करोड ६४ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएकोमा आगामी वर्षका लागि करिब २८ करोड रुपैयाँ थप गरिएको हो ।

यस्तै, पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ छुट्याइएको छ, जुन चालु आर्थिक वर्षको तुलनामा ६ प्रतिशतले कम हो । चालु वर्षमा ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको थियो ।

उपमेयर बज्राचार्यका अनुसार संघीय र प्रदेश सरकारबाट पुँजीगत शीर्षकमा कम बजेट प्राप्त भएकाले यस वर्ष पुँजीगत खर्च घटाउनुपरेको हो ।

महानगरपालिकाले वडास्तरीय कार्यक्रम तथा विषयगत क्षेत्रका योजनालाई प्राथमिकता दिएको जनाएको छ । साथै, बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबाट मासिक रूपमा प्रगति प्रतिवेदन बुझाउने व्यवस्था पनि गरिएको छ।