रास्वपा महाधिवेशनः पहिलो चरणको मतदान सम्पन्न

एक महिना अगाडि
रास्वपा महाधिवेशनः पहिलो चरणको मतदान सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको मतदान सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार बिहीबार मध्याह्न साढे १२ बजेसम्म मतदान प्रक्रिया सम्पन्न भएको हो।

निर्वाचन आयोगले मूलतः दिउँसो १२ बजेसम्म मतदानको समय तोकेको भए पनि मतदान केन्द्रमा रहेका प्रतिनिधिहरूलाई मतदान गर्न दिँदै साढे १२ बजे प्रक्रिया टुंग्याइएको जनाएको छ।

महाधिवेशनमा सहभागी चार हजारभन्दा बढी प्रतिनिधिले बुधबार राति १२ बजेदेखि मतदान गरेका थिए। रास्वपा सभापति रवि लामिछानेले पनि मतदानको अन्तिम समयमा आफ्नो मत खसालेका थिए।

पार्टी विधानअनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यका लागि निर्वाचन हुने व्यवस्था छ। सभापति पदमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। त्यसैले अहिले केन्द्रीय सदस्य पदका लागि मात्र मतदान भएको हो।

रास्वपाको विधानअनुसार निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारी चयन गरिने व्यवस्था छ। केन्द्रीय सदस्यको मतगणना सकिएलगत्तै महामन्त्रीसहित अन्य पदाधिकारीको निर्वाचन प्रक्रिया सुरु हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिएका छन्।

महाधिवेशनमा नयाँ नेतृत्व चयनका साथै आगामी राजनीतिक कार्यदिशाबारे समेत व्यापक छलफल भइरहेको छ।