काठमाडौं । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ। केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना पनि रहेको छ।
यता, तराईका विभिन्न जिल्लामा तातो हावा (लु) चल्ने र दिनभर उच्च तापक्रम कायम रहने पूर्वानुमान गरिएको छ।
महाशाखाले तातो हावा चल्ने तथा तापक्रम बढ्ने क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन, अत्यावश्यक कामबाहेक लामो समय घाममा नबस्न, पर्याप्त पानी पिउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचनाको नियमित जानकारी लिन आग्रह गरेको छ।