काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनबाट निर्वाचित ९९ सदस्यीय केन्द्रीय समितिमा झन्डै आधा महिला निर्वाचित भएका छन्। सार्वजनिक मतपरिणामअनुसार ४९ जना महिला केन्द्रीय सदस्यमा विजयी भएका हुन्, जुन कुल निर्वाचित सदस्यको ४९.४९ प्रतिशत हो।
बिहीबार सम्पन्न निर्वाचनमा ३८४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। मतगणना सकिएपछि सार्वजनिक परिणामले केन्द्रीय समितिमा महिला र पुरुषको प्रतिनिधित्व लगभग बराबरी रहेको देखाएको छ।
रास्वपाको विधानअनुसार ९९ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुनेछन् भने थप ५१ जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ। यससँगै पार्टीको पूर्ण केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ।
निर्वाचन परिणामअनुसार बागमती प्रदेशबाट निर्वाचित सबै केन्द्रीय सदस्य महिला रहेका छन्। भूगोलतर्फ ७५ प्रतिशतभन्दा बढी र खुला प्रतिस्पर्धामा पनि करिब ४० प्रतिशत महिला निर्वाचित हुनु पार्टीभित्र महिला नेतृत्वको उल्लेखनीय उपस्थितिका रूपमा हेरिएको छ।
नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनले प्रत्येक पार्टीका सबै तहका समितिमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेको छ। रास्वपाले भने निर्वाचित केन्द्रीय समितिमै झन्डै ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ।
अब सभापतिले मनोनयन गर्ने बाँकी ५१ सदस्यमार्फत पार्टीले जातीय, क्षेत्रीय तथा अन्य समावेशिताको सन्तुलन कसरी मिलाउँछ भन्ने विषयमा चासो बढेको छ।