काठमाडौं । देशका विभिन्न स्थानमा आज मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा पनि वर्षा हुन सक्नेछ।
तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुन सक्नेछ भने कोशीको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ भने मधेस, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। साथै कोशी, वाग्मती, गण्डकी र लुम्बिनीका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
हाल कोशी, मधेस र वाग्मती प्रदेशका अधिकांश भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ। विभागका अनुसार गण्डकी र लुम्बिनीका बाँकी भूभागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी दुईदेखि तीन दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको छ।