फिफा विश्वकप

पाराग्वेसँग स्तब्ध जर्मनी विश्वकपबाट बाहिरियो, पेनाल्टीमा ऐतिहासिक हार

एक महिना अगाडि
पाराग्वेसँग स्तब्ध जर्मनी विश्वकपबाट बाहिरियो, पेनाल्टीमा ऐतिहासिक हार

काठमाडौं । चार पटकको विश्व विजेता जर्मनी फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणबाटै बाहिरिएको छ। पेनाल्टी सुटआउटमा पाराग्वेसँग ४–३ ले पराजित हुँदै जर्मनीको विश्वकप यात्रा अप्रत्याशित रूपमा टुंगिएको हो।

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए। पाराग्वेका जुलियो एन्सिसोले ४२औँ मिनेटमा हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५३औँ मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै जर्मनीलाई खेलमा फर्काए।

त्यसपछि जर्मनीले कर्नरबाट अर्को गोल गरे पनि भीएआर समीक्षापछि गोलकिपरमाथि फाउल भएको ठहर गर्दै गोल रद्द गरिएको थियो। अतिरिक्त समयमा पनि नतिजा ननिस्किएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

सुटआउटमा जर्मनीका पहिलो किकर हाभर्ट्जले नै पेनाल्टी चुकाए। जर्मनीले कुल तीन पेनाल्टी खेर फाल्दा पाराग्वेले दुई अवसर गुमाए पनि अन्ततः ४–३ को जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो।

फिफा वरीयतामा १०औँ स्थानमा रहेको जर्मनीलाई ४१औँ वरीयताको पाराग्वेले हराएको यो नतिजालाई प्रतियोगिताकै सबैभन्दा ठूलो उलटफेरमध्ये एक मानिएको छ। साथै, विश्वकप इतिहासमा जर्मनी पहिलो पटक पेनाल्टी सुटआउटमा पराजित भएको हो।

सन् २०१४ मा विश्वकप जितेपछि जर्मनीले नकआउट चरणमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन ।