मौसम पूर्वानुमान

आज र भोलि भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्ने

एक महिना अगाडि
आज र भोलि भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्ने

काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय बन्दै जाँदा आज र भोलि विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार मधेस, कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुन सक्नेछ। ती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको छ। साथै, देशका अधिकांश पहाडी तथा तराई क्षेत्रमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

विभागले बंगालको खाडी क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढेकाले वर्षा थप सक्रिय हुने जनाएको छ। यसको प्रभावले भूक्षय, बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले नदी–नाला आसपासका बासिन्दा, यात्रु र सर्वसाधारणलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

भारी वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, निर्माण कार्य र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने विभागको अनुमान छ। त्यसैले आवश्यक पूर्वतयारी र मौसमसम्बन्धी सूचनालाई निरन्तर पछ्याउन आग्रह गरिएको छ।

यसैबीच, जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार मनसुनी प्रणालीको प्रभाव अहिले लुम्बिनी र सुदूरपश्चिमतर्फ बढी केन्द्रित हुँदै गएको छ। उनका अनुसार पश्चिम चुरे तथा लुम्बिनी–सुदूरपश्चिमका तराई क्षेत्रमा चट्याङको गतिविधि पनि उल्लेख्य देखिएको छ।

उप्रेतीले कञ्चनपुरको हनुमाननगर क्षेत्रमा पछिल्लो ६ घण्टामा १०९ मिलिमिटर वर्षा भएको जानकारी दिएका छन्। उनका अनुसार आज रातिदेखि भोलि बिहानसम्म लुम्बिनीको पश्चिमी भाग र सुदूरपश्चिममा वर्षा थप तीव्र हुन सक्ने सम्भावना छ भने मध्य मधेस क्षेत्रमा आगामी दुई दिन अत्यधिक वर्षाको सम्भावना कम रहेको छ।