काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले बुधबार शपथ ग्रहण गर्ने भएको छ। पार्टीका अनुसार बिहान ११ बजे घण्टीघरस्थित केन्द्रीय कार्यालयमा नवनिर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ।
शपथ ग्रहणपछि केन्द्रीय समिति बैठक बस्नेछ। बैठकले मनोनीत पदाधिकारी तथा सदस्य चयनलगायत संगठनात्मक विषयमा निर्णय गर्ने पार्टीले जनाएको छ। यसअघि सभापतिमा निर्विरोध निर्वाचित रवि लामिछानेले भने पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।
यसैबीच, केन्द्रीय सदस्य निर्वाचनको नतिजामा देखिएको प्राविधिक त्रुटि सच्याउँदै रास्वपाले पूजा बास्तोला र ध्रुव थापामगरलाई निर्वाचित घोषणा गर्ने निर्णय पनि गरेको छ।