मौसम पूर्वानुमान

पश्चिम नेपालमा लगातार वर्षा, पूर्वी तराई अझै सुक्खा

एक महिना अगाडि
पश्चिम नेपालमा लगातार वर्षा, पूर्वी तराई अझै सुक्खा

काठमाडौं । देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित अधिकांश क्षेत्रमा वर्षा भए पनि पश्चिम नेपालमा तुलनात्मक रूपमा धेरै पानी परेको छ भने पूर्वी तराई अझै सुक्खा रहेको मौसमविद्हरूले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर पूर्णतया बदली रहनेछ। हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि देशभर बदली रहने तथा हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ। रातिका लागि कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनीसमेत दिइएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार मनसुन सक्रिय भए पनि वर्षाको वितरण समान छैन। उनका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालको नजिक रहेकाले पश्चिम क्षेत्रमा राम्रो वर्षा भइरहेको छ भने पूर्वी तराईमा अपेक्षाकृत कम पानी परेको छ।

उनले आगामी केही दिनसम्म पनि यही अवस्था कायम रहने सम्भावना रहेको उल्लेख गर्दै पश्चिम नेपालमा बढी र पूर्वी तराईमा कम वर्षा हुने संकेत गरेका छन्। साथै, मनसुन प्रवेश गरेकै कारण सबै क्षेत्रमा समान रूपमा वर्षा नहुने र वर्षाको मात्रा मनसुनको न्यूनचापीय रेखाको अवस्थामा निर्भर रहने उनले स्पष्ट पारेका छन्।

यसबीच विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। नदी तथा खोलामा जलसतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो र शहरी क्षेत्रमा डुबानको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।