मौसम पूर्वानुमान

विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, चार प्रदेशमा सतर्कता अपनाउन आग्रह

एक महिना अगाडि
विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, चार प्रदेशमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै, लुम्बिनी प्रदेशको तराईका केही स्थान, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा कोसी र मधेस प्रदेशका एक/दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

रातिको समयमा पनि देशभर बदली रहने अनुमान गरिएको छ। हिमाली भूभागका केही स्थानमा वर्षा तथा हिमपात, पहाडी र तराईका विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार राति विशेषगरी गण्डकी प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोलानाला आसपासका बासिन्दा तथा यात्रुहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।