दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा माइक्रोबस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजी कार्य जारी रहेको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उद्धारका क्रममा नदी किनारको भिरमा अड्किएको एक पुरुषको शव फेला परेको छ। शव निकाल्ने प्रयास भइरहेको उनले जानकारी दिए।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित भएर कर्णाली नदीमा खसेको थियो।
दुर्घटनापछि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सुरक्षा टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार माइक्रोबसमा चालकसहित १४ जना सवार थिए। बेपत्ताहरूको खोजी र उद्धार कार्यलाई तीव्र बनाइएको छ।