मौसम पूर्वानुमान

अधिकांश स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

एक महिना अगाडि
अधिकांश स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने जनाइएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। साथै, पहाडी र तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी तथा खोलानालाको आसपास बसोबास गर्ने, यात्रा गर्ने तथा दैनिक जनजीवनमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।