काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको गतिविधि, निर्वाचन क्षेत्रका नागरिकको गुनासा व्यवस्थापन तथा आन्तरिक समन्वयलाई थप प्रभावकारी बनाउन 'पल्स आरएसपी' नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याएको छ।
पार्टीलाई प्रविधिमैत्री र डिजिटल बनाउने रणनीतिअन्तर्गत विकसित गरिएको यो प्रणालीमार्फत अब प्रतिनिधिसभा सदस्यहरूले आफ्ना दैनिक गतिविधि नियमित रूपमा अनलाइन अपडेट गर्नुपर्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।
रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार सांसदहरूलाई नयाँ प्रणालीको प्रयोग तथा साइबर सुरक्षासम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यले शुक्रबार बिहान सिंहदरबारस्थित दलको कार्यालयमा विशेष बैठक आयोजना गरिएको थियो।
नयाँ प्रणाली कार्यान्वयनमा आएपछि संसद् बैठक सम्पन्न भएलगत्तै प्रत्येक सांसदले आफ्ना गतिविधि ‘पल्स आरएसपी’ प्रणालीमा अनिवार्य रूपमा अद्यावधिक (अपडेट) गर्नुपर्नेछ।
यस डिजिटल प्लेटफर्ममार्फत सांसदहरूले एकअर्कासँग भेटघाटका लागि समय अनुरोध गर्न सक्ने, संसद्मा उठाउने विषयवस्तु पूर्वजानकारीका रूपमा प्रणालीमा राख्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, जनभेटघाट, छलफल र अन्य कार्यक्रमहरूको विवरण पनि अनलाइन अभिलेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
रास्वपाको विश्वास छ कि यस प्रणालीले सांसदहरूको कार्यसम्पादनलाई थप पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउनुका साथै नागरिकसँगको सम्पर्कलाई पनि प्रभावकारी बनाउनेछ।