काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धामा क्रोएसियालाई २-१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।
टोरन्टोमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५२औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।
तर ६६औँ मिनेटमा पोर्चुगलले पेनाल्टीको अवसर पायो। उक्त अवसरलाई क्रिस्टियानो रोनाल्डोले सदुपयोग गर्दै बराबरी गोल गरेपछि खेल १-१ को अवस्थामा पुगेको थियो।
खेल इन्जुरी समयतर्फ लम्बिँदै गर्दा ९२औँ मिनेटमा गोन्सालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई २-१ को जित दिलाए।
अन्तिम क्षणमा क्रोएसियाले पनि बललाई जाली चुमाए पनि भीएआर परीक्षणपछि अफसाइड ठहर हुँदा उक्त गोलले मान्यता पाएन।
यस जितसँगै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ। अब क्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगलले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।