काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली रहेको छ।
हाल बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुन सक्ने जनाइएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै पहाडी र तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुन सक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।