सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ साङ्गेतरा क्षेत्रमा कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बुधबार बिहान करिब ११:३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेर बेपत्ता भएको थियो।
प्रहरीले घटनास्थलबाट बरामद भएको मोबाइल, प्रारम्भिक सोधपुछ तथा आफन्तबाट प्राप्त जानकारीका आधारमा गाडीमा चालक तुलाराम सुबेदी, सहचालक रामप्रसाद सुबेदी, सिर्जना खड्का, मेखे तिरुवा र जोखे तिरुवा सवार रहेको जनाएको छ।
दुर्घटनामा मृत्यु भएका जोखे तिरुवाको शव आफन्तले सनाखत गरिसकेका छन्। आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीयवासीको संयुक्त टोलीले खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ। कर्णाली नदीमा तीव्र बहाव रहेकाले सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत सम्बन्धित निकायसँग समन्वय गरी खोजी कार्यलाई निरन्तरता दिइएको छ।
प्रहरीका अनुसार गाडीमा पाँच जनाभन्दा बढी यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा समेत अनुसन्धान भइरहेको छ। घटनासम्बन्धी यथार्थ विवरण संकलन तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।