मौसम पूर्वानुमान

आज केही स्थानमा भारी वर्षाको सम्भावना, हावाहुरी र चट्याङबाट सतर्क रहन आग्रह

एक महिना अगाडि
आज केही स्थानमा भारी वर्षाको सम्भावना, हावाहुरी र चट्याङबाट सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज (सोमबार) देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले विशेषगरी रातिको समयमा केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार दिउँसो हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहनेछ भने कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा आंशिक बदली रहने सम्भावना छ।

हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा कोशी तराई र मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।

यस्तै, मधेश, कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ।

रातिको समयमा भने देशभर सामान्य बदली रहनेछ। हिमाली भूभागका थोरै स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश र कर्णालीका पहाडी क्षेत्र तथा बागमतीका पहाडी र तराईका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ।

विभागका अनुसार कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा राति भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला आसपासका बासिन्दा तथा यात्रुहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदरभन्दा दक्षिणतर्फ तथा पश्चिमी भूभागमा सरदर स्थानको आसपास रहेको विभागले जनाएको छ।