१४ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम

एक महिना अगाडि
१४ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका १४ जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।

महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको बुलेटिनअनुसार रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, बैतडी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने सम्भावना रहेको छ।

हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीसहित प्रमुख नदीहरूको बहाव भने सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ। कन्काई, कमला, पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सामान्य अवस्थामै रहेको उल्लेख गरिएको छ।

महाशाखाका अनुसार भोलि र पर्सिबाट बाढीको जोखिम पूर्वी तथा मध्य नेपालतर्फ सर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही साना नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।