कांग्रेसको आरोप : सरकार ‘१०० बुँदे प्रचार’मै सीमित

एक महिना अगाडि
कांग्रेसको आरोप : सरकार ‘१०० बुँदे प्रचार’मै सीमित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले सार्वजनिक गरेको शासकीय सुधारका १०० बुँदालाई ‘हात्तीका देखाउने दाँत’को संज्ञा दिएका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले सरकारका प्रतिबद्धता र व्यवहारबीच ठूलो अन्तर रहेको दाबी गरे। कागजमा सुधारका योजना देखिए पनि व्यवहारमा अपारदर्शिता, चयनात्मकता र एकल निर्णय हाबी भएको उनको आरोप छ।

लोकतन्त्रमा सरकारको मूल्यांकन प्रचार सामग्रीले नभई जनताको अनुभवले हुने उल्लेख गर्दै उनले पूर्वगृहमन्त्रीको शेयर स्वामित्व विवादमा बनेको छानबिन समितिको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरिएको विषय उठाए।

आफ्नै मन्त्रीसम्बन्धी प्रतिवेदन लुकाउनु सुशासन, पारदर्शिता र नैतिकताको विपरीत भएको उनको भनाइ छ।