काठमाडौं । देशका विभिन्न प्रदेशमा आज भारी वर्षासँगै केही तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले विशेष गरी पहाडी भूभागमा भारी वर्षा र तराई क्षेत्रमा मेघगर्जन, चट्याङ तथा हावाहुरीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।
देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागको पूर्वानुमान छ। पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने बताइएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रसँगै मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। मधेस, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका तराईका धेरै स्थान र कर्णाली तथा सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना विभागले जनाएको छ। कोसी प्रदेशका पहाडी तथा तराईका थोरै स्थान र मधेस तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी पनि दिइएको छ।
हाल देशभर मनसुनी वायु सक्रिय रहेको विभागले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा औसतभन्दा दक्षिणतर्फ र पश्चिमी भूभागमा औसत स्थानको आसपास रहेकाले पछिल्ला दिनमा पश्चिम नेपालमा पूर्वको तुलनामा बढी वर्षा भइरहेको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार पछिल्ला केही दिनदेखि मनसुनको अवस्था लगभग उस्तै रहे पनि अब तराई क्षेत्रमा वर्षाको गतिविधि बढ्ने संकेत देखिएको छ। उनका अनुसार मंगलबारदेखि तराईका धेरै स्थानमा वर्षा हुने सम्भावना राम्रो रहेको छ।