काठमाडौं । आयोजक राष्ट्र अमेरिकालाई ४–१ ले पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। प्रभावशाली प्रदर्शन गरेको बेल्जियमले सहज जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।
बेल्जियमको जितमा चार्ल्स डे केटेलारेले दुई गोल गर्दै टोलीका लागि निर्णायक भूमिका खेले। उनले खेलको नवौँ मिनेटमै गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए।
अमेरिकाका मलिक टिलम्यानले ३१औँ मिनेटमा गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए। तर त्यसको दुई मिनेटपछि नै चार्ल्सले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः २–१ को अग्रता दिलाए।
दोस्रो हाफको ५७औँ मिनेटमा हान्स भानाकेनले गोल गर्दै बेल्जियमको अग्रता ३–१ बनाए। त्यसपछि इन्जुरी समयको अन्त्यतिर रोमेलु लुकाकुले अर्को गोल थपेपछि बेल्जियम ४–१ को प्रभावशाली जित निकाल्न सफल भयो।
यस हारसँगै आयोजक अमेरिका विश्वकपबाट बाहिरिएको छ। यसअघि सह–आयोजक क्यानडा र मेक्सिको पनि प्रतियोगिताबाट बाहिरिसकेका छन्। यससँगै यस संस्करणका तीनवटै आयोजक राष्ट्रको यात्रा अन्त्य भएको छ।
अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। स्पेनले प्रि–क्वाटरफाइनलमा पोर्चुगललाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो।