मौसम पूर्वानुमान

देशका केही स्थानमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

एक महिना अगाडि
देशका केही स्थानमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

काठमाडौं । देशका विभिन्न स्थानमा आज भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले विशेष गरी पहाडी तथा तराईका केही क्षेत्रमा भारी वर्षासँगै मेघगर्जन, चट्याङ र हावाहुरीको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ भने मधेस र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। साथै मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ।

रातिको समयमा पनि देशभर अधिकांश स्थानमा बदली रहने विभागको पूर्वानुमान छ। मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग र लुम्बिनी तथा सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

विभागका अनुसार मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला तथा पहिरो प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ।

जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार मनसुन थप सक्रिय हुँदै गएको छ। उनका अनुसार आज साँझसम्म कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत पश्चिम तराईका जिल्लामा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। आजदेखि भोलिसम्म पूर्वी तराईका जिल्लामा पनि वर्षाको गतिविधि बढ्ने संकेत देखिएकाले आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।

हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा औसतभन्दा दक्षिणतर्फ तथा पश्चिमी भूभागमा औसत स्थानको आसपास रहेकाले आगामी केही दिन वर्षाको गतिविधि जारी रहने मौसमविद्को अनुमान छ।