फिफा विश्वकप

अर्जेन्टिनाको शानदार पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

एक महिना अगाडि
अर्जेन्टिनाको शानदार पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै इजिप्टलाई ३-२ ले पराजित गरी विश्वकप फुटबलको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

खेलको १५औँ मिनेटमा यासिर इब्राहिमले गोल गर्दै इजिप्टलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि १९औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पाए पनि कप्तान लियोनल मेस्सी गोल गर्न असफल हुँदा पहिलो हाफ इजिप्ट १-० ले अघि रह्यो।

दोस्रो हाफको ५७औँ मिनेटमा मोस्ताफा जिकोले अर्को गोल गरे पनि भीएआर परीक्षणपछि त्यसअघि फाउल भएको पुष्टि भएपछि गोल रद्द गरिएको थियो। तर ६६औँ मिनेटमा उनले नै गोल गर्दै इजिप्टलाई २-० को बलियो अग्रता दिलाए।

खेलको ७८औँ मिनेटमा क्रिस्टियन रोमेरोले अर्जेन्टिनाका लागि पहिलो गोल गर्दै पुनरागमनको संकेत दिए। त्यसपछि ८३औँ मिनेटमा मेस्सीले बराबरी गोल गर्दै खेललाई २–२ को अवस्थामा पुर्‍याए।

इन्जुरी समयको ९२औँ मिनेटमा इन्जो फर्नान्डेजले निर्णायक गोल गरेपछि अर्जेन्टिनाले ३–२ को रोमाञ्चक जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गर्‍यो।

अब अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।