मौसम पूर्वानुमान

केही स्थानमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

एक महिना अगाडि
केही स्थानमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

काठमाडौं । देशका विभिन्न स्थानमा आज भारी वर्षासँगै केही क्षेत्रमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले मेघगर्जन, चट्याङ, हावाहुरी र भारी वर्षाको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेश र कोसी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै, मधेस, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

विभागका अनुसार कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले नदी तथा खोलामा पानीको बहाव बढ्ने, पहिरो र डुबानको जोखिम रहने सम्भावना रहेको छ।

हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागमा औसत स्थानकै आसपास रहेकाले आगामी केही दिन पनि वर्षाको गतिविधि जारी रहने मौसम विभागको अनुमान छ।