मौसम पूर्वानुमान

आज मुसलधारे वर्षाको सम्भावना, यी प्रदेशमा सतर्क रहन मौसम विभागको आग्रह

एक महिना अगाडि
आज मुसलधारे वर्षाको सम्भावना, यी प्रदेशमा सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । देशका अधिकांश क्षेत्रमा मनसुनी गतिविधि सक्रिय रहँदा आज राति केही प्रदेशमा मुसलधारे वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार गएराति देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो। अन्य क्षेत्रको तुलनामा बागमती र लुम्बिनी प्रदेशमा बढी वर्षा भएको जनाएको छ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार रातिको समयमा भने वर्षाको गतिविधि थप सक्रिय हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मुसलधारे वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यस्तै, मधेस प्रदेशका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुने सम्भावना रहेकाले नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, डुबान र पहिरोको जोखिम रहने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।