काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार तेस्रो दिन पनि घटेको छ।
पछिल्ला तीन कारोबार दिनमा नेप्से सूचक कुल ५०.८९ अंकले घटेको हो। मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार ३०.०९ अंक, बिहीबार १९.६७ अंक र शुक्रबार १.१३ अंकले बजार ओरालो लागेको छ।
शुक्रबार कारोबार सुरु हुँदा २६०१.९२ विन्दुमा रहेको नेप्से १.१३ अंक घटेर २६००.७८ विन्दुमा बन्द भयो। बजार घटे पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढ्दै ६ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ४ अर्ब ६१ करोड रुपैयाँभन्दा करिब २ अर्ब रुपैयाँ बढी हो।
मौद्रिक नीतिमा संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण गरिने व्यवस्था उल्लेख भएपछि लगानीकर्तामा केही अन्योल देखिएको विश्लेषण गरिएको छ।
साथै असार मसान्तमा बैंकको किस्ता तथा ब्याज भुक्तानी गर्नुपर्ने समय भएकाले पनि सेयर बिक्री बढ्दा बजारमा दबाब परेको जानकारहरूको भनाइ छ।