काठमाडौं । माइकल मेरिनोको अन्तिम समयको निर्णायक गोलमा स्पेनले बेल्जियमलाई २-१ ले पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
स्पेनले खेलको ३०औँ मिनेटमा फाबियन रुइजको गोलमार्फत अग्रता बनाएको थियो। तर पहिलो हाफ सकिनुअघि ४०औँ मिनेटमा बेल्जियमका चार्ल्स डे केटेलारेले बराबरी गोल गर्दै खेललाई १-१ को अवस्थामा पुर्याए। यो गोलसँगै स्पेनले समूह चरणपछि पहिलो पटक विश्वकपमा गोल व्यहोरेको हो।
पहिलो हाफ बराबरीमा सकिएपछि दुवै टोलीले दोस्रो हाफमा निर्णायक गोलको खोजी गरे। खेल अतिरिक्त समयमा पुग्ने संकेत देखिइरहेका बेला ८८औँ मिनेटमा माइकल मेरिनोले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए।
बाँकी समयमा बेल्जियमले खेलमा फर्कने प्रयास गरे पनि स्पेनले आफ्नो अग्रता जोगाउँदै सेमिफाइनल यात्रा तय गर्यो । अब स्पेनले फाइनल प्रवेशका लागि सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्सले क्वाटरफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।