मौसम पूर्वानुमान

देशभर मनसुन सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना

एक महिना अगाडि
देशभर मनसुन सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले केही प्रदेशका पहाडी तथा तराई भूभागमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ। अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको पूर्वानुमान गरिएको छ ।विभागका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोशी प्रदेशका पहाडी र गण्डकी तथा लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहिरो र डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।