काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा मध्यमदेखि भारी तथा केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले विशेषगरी पहाडी तथा तराईका जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा केही माथि तथा पूर्वी क्षेत्रमा नेपालको तराई भूभागनजिक अवस्थित छ। यसका कारण देशका अधिकांश स्थानमा वर्षाको गतिविधि जारी रहने पूर्वानुमान गरिएको छ।
आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ भने मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा पनि वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।विभागका अनुसार मधेस प्रदेशसहित कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
रातिको समयमा पनि वर्षाको गतिविधि जारी रहनेछ। कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
विभागले कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेससहित कोसी, वाग्मती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी दिएको छ। साथै, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा अति भारी वर्षा पनि हुन सक्ने भएकाले नदी तथा खोलामा पानीको बहाव बढ्ने, पहिरो, डुबान र सडक अवरुद्ध हुने जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।