काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले नर्वेलाई २-१ ले पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अतिरिक्त समयमा आएको बेलिंघमको निर्णायक गोलले इंग्ल्यान्डलाई अन्तिम चारमा पुर्याएको हो।
नर्वेले खेलको ३६औँ मिनेटमा एन्ड्रियास इस्लेआपको गोलमार्फत अग्रता बनाएको थियो। तर पहिलो हाफ सकिनुअघि नै जुड बेलिंघमले बराबरी गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए र पहिलो हाफ १-१ को बराबरीमा सकियो।
दोस्रो हाफको ५४औँ मिनेटमा नर्वेका टोबियास हेगेमले गोल गरे पनि त्यसअघि एर्लिङ हालान्डले इंग्ल्यान्डका डिफेन्डरमाथि फाउल गरेको भीएआरबाट पुष्टि भएपछि गोलले मान्यता पाएन। यससँगै खेल १–१ को अवस्थामै रह्यो।
निर्धारित ९० मिनेट र सात मिनेटको इन्जुरी समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
अतिरिक्त समयको ९३औँ मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाए।
यस जितसँगै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ। अब इंग्ल्यान्डले फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबीच हुने क्वाटरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।