काठमाडौं । देशका मध्य र पूर्वी भेगका विभिन्न जिल्लामा गएराति भारी वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुनसरी, उदयपुर, सिन्धुली, नवलपरासी, पाल्पा, सोलुखुम्बु, झापा, मकवानपुर र म्याग्दीलगायत जिल्लामा ठूलो वर्षा रेकर्ड गरिएको छ।
काठमाडौं उपत्यकासहित देशका अन्य धेरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ भने केही क्षेत्रमा अहिले पनि वर्षा जारी रहेको महाशाखाले जनाएको छ।
यस्तै, कैलालीको कटेनी नदीस्थित रतनपुर जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार आज र भोलि पनि देशका अधिकांश क्षेत्रमा वर्षाको गतिविधि जारी रहनेछ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थान, साथै कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।