मनसुन सक्रिय, पहिरोमा परेर दुई जनाको मृत्यु

एक महिना अगाडि
मनसुन सक्रिय, पहिरोमा परेर दुई जनाको मृत्यु

काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै बाढी–पहिरोका घटनामा जनधनको क्षति हुन थालेको छ।

गएराति जाजरकोट र दोलखामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जाजरकोटको भेरी नगरपालिका–२ राङ्सीमा पहिरोले अस्थायी टहरा पुरिँदा ७१ वर्षीया जयशिलाकुमारी शाहको मृत्यु भएको हो। घटनामा उनकी छोरी र नातिनी घाइते भएका छन्।

यस्तै, दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा सडकमाथिबाट खसेको पहिरोमा परी चार महिनाकी एलिना थामीको ज्यान गएको छ भने उनकी आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन्।

उता मकवानपुरको हेटौँडास्थित कर्रा खोलामा आएको बाढीले १२ चक्के ट्रक बगाए पनि चालक दीपक थिङ पौडिएर सकुशल बाहिर निस्किएका छन्।

मौसमविद्ले पर्सिसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थान र राजमार्गमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।