काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले गएरातिदेखि नै विभिन्न स्थानमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा वर्षा जारी रहेको छ भने आज पनि केही प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभागनजिक अवस्थित रहेकाले देशभर वर्षाको गतिविधि बढेको हो।
आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान तथा कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका तराईका साथै लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
रातिको समयमा पनि देशभर बदली रहने पूर्वानुमान छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।
यस्तै, मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। विभागले विशेष गरी कोसी प्रदेशको तराई र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।