सुनसरी । पूर्वी पहाड र तराईका विभिन्न जिल्लामा लगातार भइरहेको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव उल्लेखनीय रूपमा बढेको छ। बहाव बढेसँगै सम्भावित जोखिमलाई ध्यानमा राख्दै कोसी ब्यारेजका २० वटा ढोका खोलिएको छ।
सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार कोसी ब्यारेजमा हाल पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड पुगेको छ।
बढ्दो बहावलाई व्यवस्थापन गर्न ब्यारेजका ५२ वटा मुख्य ढोका र दुईवटा नहरका चार ढोकासहित कुल ५६ ढोकामध्ये २० वटा ढोका खोलिएको प्रहरीले जनाएको छ।
पानीको सतह निरन्तर बढिरहेका कारण कोसी ब्यारेजमा खतरा संकेतस्वरूप रातो बत्ती बालिएको छ भने रातो झण्डासमेत फहराइएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।
सम्बन्धित निकायले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सूचना तथा सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेका छन्।