काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार हुने दोस्रो सेमिफाइनलमा विश्व फुटबलका दुई कट्टर प्रतिद्वन्द्वी इङ्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदैछन्। अमेरिकाको एटलान्टामा हुने यो बहुप्रतीक्षित खेलमा दुई दशकभन्दा बढी समयपछि यी दुई टोली विश्वकपमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन्।
झण्डै २१ वर्षपछि विश्वकपमा हुने यस भेटलाई प्रतियोगिताकै सबैभन्दा ठूलो भिडन्तका रूपमा हेरिएको छ। दुवै टोलीमा विश्वस्तरीय खेलाडीहरूको उपस्थितिका कारण खेल थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।
इङ्ल्यान्डका लागि रियल मड्रिडका स्टार मिडफिल्डर जुड बेलिङहम प्रतियोगितामा उत्कृष्ट लयमा छन्। उनले हालसम्म ६ गोल र एक असिस्ट गर्दै टोलीलाई सेमिफाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान दिएका छन्। क्वाटरफाइनलमा नर्वेविरुद्ध दुई तथा अन्तिम १६ मा मेक्सिकोविरुद्ध दुई गोल गर्दै उनले लगातार दुई नकआउट खेलमा दुई–दुई गोल गर्ने कीर्तिमानसमेत बनाएका छन्।
कप्तान ह्यारी केन पनि समान ६ गोलसहित सर्वाधिक गोलकर्ताको दौडमा छन्। सन् २०१८ का गोल्डेन बुट विजेता केनले समूह चरणदेखि नकआउटसम्म निर्णायक प्रदर्शन गर्दै आएका छन्। एटलान्टाको अनुकूल वातावरणमा उनी अझ प्रभावशाली बन्न सक्ने अनुमान गरिएको छ।
विंगर एन्थोनी गोर्डनले गोल गर्न नसके पनि तीन असिस्ट दिँदै इङ्ल्यान्डको आक्रमणलाई धारिलो बनाएका छन्। निर्णायक अवसर सिर्जना गर्ने उनको क्षमताले अर्जेन्टिनाको रक्षापंक्तिलाई चुनौती दिन सक्छ।
यता साविक विजेता अर्जेन्टिनाको सबैभन्दा ठूलो आशा कप्तान लियोनल मेसी नै हुन्। उनले प्रतियोगितामा ८ गोल र २ असिस्ट गर्दै टोलीलाई अन्तिम चारसम्म पुर्याएका छन्। पहिलो खेलमै ह्याट्रिक गरेका मेसीले त्यसयता पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
स्ट्राइकर लाउटारो मार्टिनेज र मिडफिल्डर एलेक्सिस म्याक एलिस्टर पनि अर्जेन्टिनाका महत्वपूर्ण हतियार हुन्। मार्टिनेजले बेन्चबाट मैदान प्रवेश गर्दै निर्णायक गोल गरेका छन् भने म्याक एलिस्टरले मिडफिल्डमा खेलको गति नियन्त्रण गर्दै टोलीलाई सन्तुलित बनाएका छन्।
विश्व फुटबलका दुई शक्तिशाली राष्ट्रबीचको यो भिडन्तको विजेताले फाइनलमा स्थान बनाउनेछ।