आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

एक महिना अगाडि
आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ भने मनसुनको न्यूनचापीय रेखा नेपालको तराई क्षेत्रनजिक रहेकाले वर्षाको गतिविधि बढ्ने सम्भावना छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यसैगरी पहाडी तथा तराईका विभिन्न स्थानमा मध्यम वर्षासँगै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा मधेससहित केही तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

रातिको समयमा पनि वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ। कोशी प्रदेशका पहाडी क्षेत्र तथा कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

विभागले पहिरो, डुबान, बाढी तथा नदी–नालामा जलसतह बढ्न सक्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।